News Details
जेन–जी प्रतिनिधि र प्रदेश सरकारबीच अन्तरक्रिया
काठमाडौँ — जेन–जी आन्दोलनपछि बागमती प्रदेशका मुख्यमन्त्री एवं विभिन्न प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसँग जेन–जी प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् ।
'संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसरहरू’ का विषयमा बागमती प्रदेश सरकारले जेन–जी प्रतिनिधिहरुसँग आइतबार अन्तरसंवाद गरेको हो ।
बागमती प्रदेश सुशासन केन्द्र (प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम) र फेडरलिज्म तथा लोकलाइजेसन सेन्टर(एफएलसी) को आयोजनामा भएको कार्यक्रममा जेन–जीहरुले संघीयतासहित आफूहरुको आन्दोलन र प्रदर्शनका बारेमा कुरा राखेका थिए । कार्यक्रममा एफएलसीका अध्यक्ष एवम् पूर्व राष्टिय सभा सदस्य खिमलाल देवकोटाले २००७ सालदेखि जेन–जी आन्दोलनसम्मका महत्त्वपूर्ण राजनीतिक घटनाक्रमसहितको संघीयताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जेन–जी अगुवाको तर्फबाट सहभागी विकास रसाइली, जस्मिन ओझा, माजिद अन्सरी, अपसना बानु, दिफपाल क्षेत्री, विकास यादवलगायतले युवाले संविधानको प्रभावकारी कार्यन्वयन नहुँदा संघीयतामाथि प्रश्न उठेको बताएका थिए । उनीहरुले अहिले नेतृत्वमा रहेका व्यक्ति नसुध्रिँएको, आफ्नै केन्द्रका नेताहरुबाट हमला भएकोलगायतका विषयसँगै संघीयताको अनुभूति नभएकोसम्मका कुरा बताएका थिए । उनीहरुले भदौ २३ र २४ गतेको घटनालाई छुट्टाछुट्टै हेरिनु पर्नेसमेत बताएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्रीहरू– कोशी प्रदेशका राजेन्द्र राई, मधेश प्रदेशका लालबाबु राउत, लुम्बिनी प्रदेशका डिल्लीबहादुर चौधरी, बागमती प्रदेशका अष्टलक्ष्मी शाक्य र शालिकराम जम्मकट्टेलसहितको उपस्थिति रहेको थियो । उनीहरुले संघीयताको विषयमा नयाँ पुस्ताको बुझाइको प्रशंसा गर्दै संविधानभित्र रहेर आवश्यक सुधार आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले प्रदेश सरकार नयाँ पुस्ताको अपेक्षा बुझ्दै सोही अनुरूप नीति बनाउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरेको बताए।