News Details

  • By Admin
  • 2024-12-24
  • 01.52AM

संघीयता, राष्ट्रिय सभा र आगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघीयता, राष्ट्रिय सभा र आगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघीय संसद, राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा संघीयता, राष्ट्रिय सभा र आगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रम पौष ९ गते काठमाडौंमा सम्पन्न भयो ।  

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यता र माननीय उपाध्यक्ष विमला घिमिरेको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा संसदीय दलका नेताज्यूहरु, संसदीय समितिका सभापतिज्यूहरु, संसदीय दलका मुख्य तथा प्रमुख सचेतकहरु, राष्ट्रिय सभाका सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव, संघीय संसद सचिवालयका सचिव लगायत फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियोे । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा विकास र संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो। यसका लागि राष्ट्रिय सभाले प्रभावकारी भुमिका खेल्नु पर्ने बताउनु भयो । धेरैले आर्थिक समृद्धि, सुशासन, कानून निर्माण र सामाजिक न्यायको अपेक्षा गरेको र ईमानदारीका साथ भन्नु पर्दा त्यसमा अपुगता रहेको वहाँले वताउनु भयो । कार्यक्रममा उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहको पक्षमा भुमिका खेल्नु पर्ने बताउनु भयो । 

कार्यक्रमका अध्यक्ष डा. खिमलाल देवकोटाले सात प्रदेशमा उठेका प्रदेशका सवाल जस्ताको तस्तै प्रस्तुति गर्नुभयो । राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले संघीयता सबलीकरण सम्बन्धमा राष्ट्रिय सभामा भएको अभ्यास र आगामी कार्यभार बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे। डा. देवकोटा र डा. अर्यालको प्रस्तुति पछि राष्ट्रिय सभाका ३३ जना माननीय सांसदहरूले आआफ्ना सुझाव र धारणा राख्नुभएको थियो । 

यसक्रममा राष्ट्रिय सभामा विपक्षी दलका नेता नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री भएका बेला निजामती र प्रहरी ऐन जारी गर्न लाग्दा ठुला दलका ठुला नेताहरु नै अनुदार देखिएको बताए । यस्तै गरि एकीकृत समाजवादी पार्टीका दलका नेता वेदुराम भुसाल, सत्तापक्ष दलका प्रमुख सचेतक कृष्णबहादुर रोकाया, संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डे, सचिब डा. रोजनाथ पाण्डेले आफ्नो धारणा राख्नुभयो । 

कार्यक्रममा सुदुरपश्चिमका राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, तारामान स्वाँर, मदनकुमारी शाह (गरिमा), रेनु चन्द कोशीका सोनाम गेल्जन शेर्पा, इन्दिरादेवी गौतम, रुकमिणी कोइराला कर्णालीका बिष्णुबहादुर बि.क., उदयबहादुर बोहरा, सुमित्रा बी.सी., मायाप्रसाद शर्मा, नरबहादुर बिष्ट, सावित्री मल्ल मधेशका पुजा चौधरी, उर्मिला अर्याल, तुलसा दाहाल लुम्बिनीका जगप्रसाद शर्मा, युवराज शर्मा, बिष्णुकुमारी सापकोटा, राजेन्द्रलक्ष्मी गैरे, गोपाल भट्टराई, झक्कु सुवेदी बागमतीका श्रीकृष्ण अधिकारी, अन्जना शाक्य, गंगाकुमारी बेलवासे, बिष्णुदेवी पुडासैनी, जितजंग बस्नेत गण्डकीका पदम परियार  सुरेश आलेमगर, किरणबाबु श्रेष्ठ, भुवन सुनार, कमला पन्तले धारणा राख्नुभएको थियोे । 

फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरले हालसालै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसंगको समन्वय तथा सहकार्यमा सातवटै प्रदेशमा संघीयता सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसकेको थियो । संघीयता सवलीकरणको लागि भए गरेका कामकारवाही, देखिएका समस्या र चुनौति साथै आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रका विषयमा विभिन्न सरोकारवाला पक्षसंग छलफल, अन्तरक्रिया, गोष्ठी गर्ने क्रममा संघीय तहमा समेत कार्यक्रमहरु हुँदै आएका थिए । यसै सन्दर्भमा ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको र राष्ट्रिय सभाले निकट भविश्यमा प्रदेश स्तरबाट प्रतिनिधित्व गर्ने माननीय सदस्यहरुको सहभागितामा आआफ्नो प्रदेशमा संघीयता कार्यान्वयनको अवस्थाका सम्वन्धमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको सन्दर्भमा यो अन्तरक्रिया एवं अनुभव आदान प्रदान कार्यक्रम आफैमा सान्दर्भिक रहने अपेक्षा गरिएको छ । 

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सांसद तथा सभापति आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले स्वागत मन्तव्य र राष्ट्रिय सभाकै पूर्व सांसद तथा सभापति आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको बोर्ड सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। अन्तरक्रियामा व्यक्त विचारलाई डा. दीपेन्द्र रोकाया, डा. भिमा ढुंगाना र संस्थाका कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले टिपोट गर्नुभएको थियोे ।